“सोसल मिडियालाइ खुर्पाको बिँड बनाउने कि श्रीखण्डको रुपमा प्रयोग गर्ने भन्ने कुरा प्रयोगकर्तामै भरपर्छ”

[meroreport.net मा छापिएको मेरो अन्तर्वार्ता ]

सिन्धुपाल्चोकमा जन्मिए पनि काठमाण्डौलाइ कर्मथलो बनाएका निलाम्बर शर्मा आफुलाइ ‘मात्र नेपाली’का नामले चिनाउन चाहन्छन् । इलेक्ट्रोनिक्स इन्जिनियरिङका बिद्यार्थी र सफ्टवेयर डेभ्लपरको पेशा अँगालेका निलाम्बर ब्लगिङ र सामाजिक संजालमा रुची राख्छन । निलाम्बरको ब्लग http://nilambar.net/ मा खासगरी सुचना-प्रविधिका कुराहरु धेरै पाइन्छन । मेरोरिपोर्टको साताका ब्लगर स्तम्भमा यसपाली हामीले उनै निलाम्बरसंग कुराकानी गरेका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले गरेको कुराकानी :

ब्लग लेखन कहिलेदेखि शुरू गर्नुभयो?

ब्लगिङमा नजानिँदो पाराले छिरियो । blogger.com मा पहिलो चोटी ब्लग बनाएको सन् २००८ मा हो । सुरुमा चाँही आफ्नै नामको वेबसाइट बनाउने रहरले ब्लग बनाएको थिएँ । सुरुमा खासै सक्रिय थिइन अहिले जस्तो ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?

सफ्टवेर क्षेत्रमा भएको नाताले मेरा पोष्टहरु प्राय: त्यहीसंग सम्बन्धित हुन्छन । सफ्टवेर बनाउँदा आएका अप्ठ्याराहरुलाइ हल गर्ने तरिकाहरु पोष्ट गर्छु । आफुलाई जे कुराले अप्ठ्यारा पर्यो त्यही कुराले अरुको समय बर्बाद नगरोस् अनि सजिलो होस् भन्नका लागि यसो गरेको हो । कहिलेकाहीँ अरु आफुलाई मनमा लागेका कुराहरु पनि पोस्ट गर्ने गर्छु ।

ब्लगमा खासगरी कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ?

मेरो ब्लग http://nilambar.net/ मा कहिलेकाहीँ आफुलाई मनमा लागेका कुराहरु पोष्ट गर्ने गरेपनि धेरैजसो पोष्टहरु ‘टेक’ सम्बन्धि नै हुन्छ । कुनै निश्चित बिषयमा केन्द्रित भएर ब्लगिङ् गर्ने गर्दिन । धेरैथरीका पोष्ट भेट्नुहुन्छ तपाइले मेरो ब्लगमा ।

प्रविधि तपाईको रुची मात्र कि पेशा?

यो मेरो रुचि अनि पेशा दुवै हो । पढाइले इलेक्ट्रोनिक्स इन्जिनियर भए पनि सफ्टवेरतिर लागियो आफुलाई निकै मन पर्ने भएर ।

प्रविधिका बारेमा लेखिएका ब्लगका पाठकहरु को हुन नेपालमा?

प्राविधिक विषय पढ्ने बिद्यार्थीहरुले यस्ता ब्लगहरु धेरै हेर्छन जस्तो लाग्छ । अरु पेशामा लागेकाहरुले पनि हेर्ने गरेको पाएको छु । आ-आफ्नो रुचीको कुरो न हो !

आफ्नो पेशासंग जोडिएका सवाललाइ ब्लग मार्फत उठाउँदाको फाइदा चाँही के नि?

सजिलो माध्यम भएकोले आफ्नो पेशा सम्बन्धि थुप्रै पोष्टहरु गर्ने गरेको छु । अरुलाइ पनि थाहा होस् न आफु ले के भोगिरहेको छु, कस्तो छ अवस्था  भन्नेकुरा । यहि त हो ब्लगिङ्गको सुन्दरता !

सोसल नेटवर्किङ साइटमा हुने कस्ता कुराले तपाईलाइ तान्नेगर्छ, खासगरी ट्विटर फेसबुकमा हुने बहसका बारेमा भन्नुपर्दा ।

म फेसबुक भन्दा ट्वीटर नै धेरै चलाउँछु । ट्वीटरको एक सक्रिय प्रयोगकर्ता नै भन्दा पनि हुन्छ । ट्वीटर ज्वाइन गरेर धेरै राम्रा साथीहरु भेटेको छु । TFC Nepal पनि गर्व गर्न लाएको कुरा हो । स्थापना देखि नै लागियो त्यसमा । रमाइलो लाग्छ ।

एउटा ब्लगरका नाताले तपाइले नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

अहिले नेपालमा ब्लगिङ् निकै विकास हुँदै गरेको जस्तो लाग्छ । इन्टरनेटको पहुँच बढ्नु पनि एउटा कारण हुनसक्छ । आफ्ना कुराहरु अरुमाझ पुर्याउने राम्रो माध्याम बनेको छ । कोही साहित्य सम्बन्धी छन, कोही प्रविधि सम्बन्धि । विविध विधामा ब्लगहरु भेटिन्छ ।

तपाईसँग आफ्नो ब्लगसंग जोडिएको वा सोसल नेटवर्किङ साइटमा कुराकानी गर्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ?

त्यस्तो खासै त छैन । तर TFCNepal कै मिटिङमा जाँदा मैले नचिने पनि कति साथीहरुले चिन्नुहुँदो रैछ, मलाई ट्वीटरमा फलो गरेर । रमाइलो लाग्ने के !

एउटा ब्लगरका नाताले सोसल मिडिया मार्फत आफुले कुन कुरामा योगदान गरेको छु जस्तो लाग्छ?

अरु केहि नभएपनि प्राविधिक क्षेत्रमा लागेकाहरुका लाइ चाँही उपयोगी नै छ जस्तो लाग्छ मेरो ब्लग । सफ्टवेर बनाउनेहरुलाई कोड नमिलेर टाउको ठोक्काउने काम अलि कम होला कि ! हाहाहाऽऽऽ

मानिसहरु अचेल सामाजिक संजालमा हुने बहसमा निकै सहभागी भैरहेका हुन्छन, किन यस्तो भएको होला?

खासमा सोसल मिडियाको उपयोग गर्ने नै आफ्ना कुराहरु अरुमाझ पुर्याउनलाई हो तर कहिलेकाँही भर्चुअल हुनुको फाइदा उठाएर अरुलाई हानी पुर्याउने र दुरूपयोग गर्ने केशहरु देख्दा चै दु:ख लाग्छ ।

सोसल मिडियामा भइरहेका बहसले नयाँ के गरिरहेको जस्तो लाग्छ यहाँलाइ?

विविध क्षेत्रका मानिसहरुको विचार एकत्रित हुने ठाँउ हो सोसल मिडिया । गहन बहस र छलफलबाट विभिन्न अभियान र कार्यक्रमहरु सुरु भएका छन्, अनि सफल पनि भएका छन् । वाहियात गफ गरेर टाइम पास गर्ने सोचका साथ आउने तत्वहरुले गर्दा मात्र कहिलेकाँही नराम्रा घटनाहरु घट्ने गरेका हुन् ।

सोसल मिडिया मार्फत सामाजिक अभियानहरुमा पनि निरन्तर सहभागी भैरहनुभएको छ । यस्तो किन गर्नुभएको हो? के मिल्छ यसबाट?

सोसल मिडिया मार्फत पनि देश र समाजको लागि केहि गर्न सकिन्छ भने किन नगर्ने भनेर लागिन्छ । आफ्नो सानो सहयोगले अरुको ओठमा मुस्कान आउँछ भने कति खुसी लाग्छ, भन्नुस त !

फेरी ब्लगतिरै फर्किउँ, तपाइको सबैभन्दा धेरै हेरिएको ब्लगपोष्ट कुन हो?

‘टेक’ सम्बन्धी पोष्ट नै बढी भिजिट हुन्छ मेरो ब्लगमा । आफ्नो वेबसाइटमा नेपाली मिति राख्न एउटा widget बनाको छु ! त्यो widget पनि थुप्रै वेबसाइटमा राखिएको छ ।

ब्लग लेखेर मात्रै भएन, त्यसले पाठकको ध्यान तान्न पनि उत्तिकै जरुरी छ । कस्ता ब्लगले पाठकको ध्यान धेरै तान्छ होला?

मेरो अनुभवमा ‘टेक’ सम्बन्धि ब्लगमा चाँही बढी How To र Best Free पोष्टहरुमा भिजिट आउछ । कुनै समस्या पर्दा कसरी समाधान गर्ने भनेर लेखेका पोष्टहरुमा राम्रो भिजिट आउछ । आफुलाई अप्ठेरो परेपछि सर्च गर्ने त हो ! 😀

नेपालमा टेक्नोब्लगहरु अत्यन्तै न्युन भेटिन्छन किन यस्तो होला प्रविधि प्रति मान्छेको बुझाइ कम भएर या यस्तो ब्लग लेख्नेहरु नै कम भएर?

अरु विधाको तुलनामा अलि कम भएपनि यस्ता ब्लगहरु पनि बढ्दै गैरहेको पाएको छु । प्रविधिको विकास हुँदैगर्दा यस्ता बिषयमा लेख्ने अनि पढ्न रुची राख्ने मान्छेको संख्या पनि त बढ्ला नि !

तपाइ आफुचाँही अरुको ब्लग कत्तिको हेर्नुहुन्छ? केही ब्लगको नाम लिनुपर्दा

टेक सम्बन्धि प्रख्यात ब्लगहरु त हेरिन्छ नै । पेशाले गर्दा पनि हेर्नेपर्छ, हाहा ! अरु नेपाली ब्लग पनि हेर्नेगर्छु । नेपाली लेखहरु पढ्नेगर्छु ! साहित्यमा चाँहि कथाहरु पढ्नेगर्छु ! मैले प्राय: हेर्ने ब्लग हरुमा aakarpost.comjawknock.com , techsansar.com आदि  हुन ।

यति कुरा गरिसकेपछि तपाइको विचारमा सामाजिक संजाल के हो

खासमा सामाजिक सञ्जाल आफ्न कुरा अरुमाझ पुर्याउने साझा थलो हो । साथै सुचनाको माध्यम पनि हो, अनि मनोरञ्जन तथा विज्ञापन को पनि । त्यत्ति हो कि, सही समयमा सही तरिकाले प्रयोग गर्न जान्नुपर्छ ।

अनि सामाजिक संजालको खास महत्व चाँहि के नि?

अहिलेको समयमा निकै महत्वपुर्ण छ सामाजिक संजाल । तर प्रयोग गर्ने मान्छेमा भरपर्छ उसले कसरि उपयोग गर्छ भन्ने कुरा । खुर्पाको बिँड बनाउने कि श्रीखण्डको रुपमा प्रयोग गर्ने !

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

म पत्रकारिताको बिषयमा अनभिज्ञ भएकोले यसबारेमा खासै थाहा भएन तर केहि फरक होला कि ! पत्रकारिता पढ्ने मान्छेलाई केन्द्रबिन्दुमा राखेर गरिन्छ होला तर ब्लगिङ्मा आफ्नो बिचार र अभिव्यक्ति मुख्य हुन्छ ।

ब्लगिङलाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि चाहिन्छ भन्ने बहस पनि छ एकातिर, तपाइलाइ के लाग्छ, के यो जरूरी छ?

आचारसंहिता बनाएर पालना गराउने अवस्था आउन दिनुभन्दा त आचारसंहिता नै नचाहिने गरि आफु सजग र सचेत हुनु राम्रो होला नि, हैन र? आचारसंहिता भयो भने ब्लगरलाई सतर्क र जिम्मेवार बनाउन सहयोग त गर्ला तर ब्लगर आफै संवेदनशील हुनु राम्रो ।

अन्त्यमामेरोरिपोर्टलाइ उत्तरोत्तर प्रगतिको कामना !

One thought on ““सोसल मिडियालाइ खुर्पाको बिँड बनाउने कि श्रीखण्डको रुपमा प्रयोग गर्ने भन्ने कुरा प्रयोगकर्तामै भरपर्छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.